संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ। यसरी नयाँ वर्षमा जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ। युनिसेफका अनुसार आधाभन्दा बढी शिशुको जन्म नौवटा राष्ट्रमा भएको छ।
ती राष्ट्रहरु भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश रहेका छन्। यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु भएको छ। सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै दुई हजार ६०० बालबालिकाको मृत्यु भएको थियो।
युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको छ। त्यसैगरी २६ लाख बालबालिकाको जन्मेको एक महिनामै मृत्यु हुने गरेको छ। तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा भए पनि कमि आएको देखिन्छ।
### Copied from annapurna post ###